मौरीको घार सम्हाल्ने सीप

बन्दीपुर नगरपालिका –६ झुप्रीकी मौरी पालक किसान हुन् रामामाया राना । स्कुले जीवनमै झुप्रीका भोला भट्टराईसँग प्रम विवाह गरेकी राममाया जातले मगर हुन् । पति भोलाको परिवारले नभित्र्याएपछि यो जोडीलले व्यहोरेको सास्ती अहिले पनि गाउँलेहरु सुनाउँदा रहेछन् । ओहो ! यिनीहरुले धेरै समस्यासँग जुध्नुपर्यो तर अन्त्यमा समस्याबाट पार मात्र पाएनन् । अहिले हामी गाउँलेलाई पनि अगाडि बढ्ने बाटो देखाउन सक्ने भएका छन् । प्रेम विवाहपछि आफ्नो घर गाउँ नै छोडेर राजधानस् काठमाण्डौमा जीवनयात्रा थालेको यो जोडी काठमाण्डौमा काम गर्दै पढ्यो । श्रीमानले एमए सक्दा बच्चा हुर्काएर पनि राममायाले एसएलसी पास गरिछोडिन् । त्यसपछि उनीहरु गाउँ फर्के । भोला भट्टराई स्कुल र स्थानीय कलेजमा पढाउन थाले राममाया भने ११ पढ्न थालिन् ।

उनले भनिन्, पढ्दापढ्दै एलआरपी भन्ने कार्यक्रमको तालिम लिन पाएँ । तालिममा त म जिल्ल परेँ, बोल्नुपर्ने रहेछ । मेरो मुखबाट शब्द नै निस्केन फेरी म एकजना मात्र महिला थिएँ । म त छाड्छु यो तालिम बरु नपढेपछि कोर्षको पैसा बुझाउनु परे बुझाउँला भनेँ श्रीमानलाई । उहाँ त्यतिखेर हाम्रौ झुप्री डाँडा सामुदायिक वन उपभोक्ता समूहको सचिव हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ए त्यस्तो तालिमलाई त तिमीले महासंघका किताब पढ्यौ भने मज्जाले हाँक्न सक्छ्यौ । उहाँले किताबहरु ल्याइदिनुभयो । मैले त्यो किताब पढेँ । त्यसपछि त कार्यक्रम सञ्चालन भयो भने यो यसरी त्यो त्यसरी भनेर आफूमात्र बोल्ने पो भएकी छु ।

तालिम सकियो थोरै समय दमौलीमा काम पनि पाएँ । प्रोजेक्ट सकियो । नयाँ काम गर्ने कुरा आउँदा सँगै तालिम लिएका साथीहरुले उच्च शिक्षा सकेका रहेछन् । फटाफट काम पाइहाले । मलाई त कसैले लिएन । दिक्क लाग्यो धेरै नपढेकाको त समाजमा कामै रहेनछ । अब के गर्ने म बिलखबन्दमा परेँ । १२ कक्षाको पढाइलाई अगाडि बढाएँ । तै पनि साथीहरुले भनेको थिएँ जे काम भए पनि गर्छु । केषि र थोपा सिंचाइको कामका लागि समुदायमा काम गर्ने महिला कयृकर्ता चाहिएको रहेछ । साथीहरुले रामामायाले काम गर्न सक्छे भनेका रहेछन् । नभन्दै एकदिन बालकृष्ण थापामगर सरको कार्यक्षेत्र यहीँ नै रहेछ । घरमै आउनुभयो र यो क्षेत्रका केशवटार धरमपानी र बन्दीपुर जस्ता विकट गाउँमा यही काम थाल्नुभएको रहेछ । मैले भनेँ यो काम गर्न म सक्छु । मैले समुदायमा तरकारी खेती गरेर देखाएँ । पहिले माइती यम्पामा लुम्लेबाट आएर तरकारी खेती सिकाएका थिए । त्यो मैले देखेकी र तरकारी खेती गरेकी पनि थिएँ । त्यसैले धरमपानीमा बढेमानका काउली अरु तरकारी उत्पादन गरेकोमात्र होइन, पैसा नै कमाएर देखाइदिएँ । मलाई नचिन्ने कोही भएन ।

नोकरी होइन, व्यवसाय

त्यसपछि मलाई अरुको नोकरी होइन आफैँ व्यवसाय गरौँ भन्ने लाग्यो र श्रीमानलाई पनि भनेँ तर के व्यवसाय गर्ने ? घरमा पहिलाको मुढे घार मौरी थिए, यही गर्नुपर्यो यसमा फाइददा छ भनेर घार खोलेर चलाएँ । मौरीले मलाई यसरी चिले मानौ सय सुई मलाई एकैपटक घोचियो । दुई दिन त सिकिस्त बनेर सुतेँ ।

श्रीमानले भन्नुभयो ‘जीवनमा विकल्प सोच्नैपर्छ । तिमीले राम्रो पाठ सिक्यौ । मैले पनि भन्ठानेँ यी झिंगाजत्रा किराबाट के हरेस खानु ? मलाई झन् मौरीबारे जान्न मन लाग्यो । बजारमा यत्रो धेरै मह मौरीबाटै निकालिएको त हो नि । म जस्ता जुझारु र संघर्षबाट पछि नहट्ने महिला मौरीसँग भागेर के हिँड्नु ? पुरुषहरुले मौरी पाल्न र चलाउन सक्छन् भने महिला पनि के कम ? मौरीका किताबर पत्रिका र मौरीपालकका कुरा सुन्न थालेँ । यसो गर्दागर्दै म मौरीप्रेमी पो बनेछु । यही नै बेला बीलबहादुर गुरुङ दाइ जुमडाँडा सामुदायिक वन उपभोक्ता समूह जोगाउन कम्मर कसेर लाग्नु भएको थियो । उहाँको अग्रसरता र नेतृत्वमा नांगो डाँडा हराभरा बन्न सक्छ भने वन वनमा नाच्ने मौरीपालनमा म किन नलाग्ने भन्ने मनमा लागिरहेको थियो ।

आधुनिक घारमा मौरीपालनमा लाग्न खोजिरहेको बेला सामुदायिक वनले हरियो वन कार्यक्रम अन्तर्गत आयआर्जन निम्ति मौरीपालनमा सहयोग गर्न भनेँ । उहाँहरुले सहयोग गर्नुभयो । मैले औपचारिक तालिम लिगेँ । सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वय गरेँ । सबैको सहयोगमा म अहिले यो भेगमै मौरीपालकको रुपमा लगभग स्थापित भैसकेकी छु । यो सिजनमा मात्र मैले १ लाख २० हजारको मह बिक्रि गरेँ । अहिले मसँग ६० घार मौरी छन् । मंसिरका निकालेको मह मैले आफैँ ६ सय ग्राम अट्ने सीसीमा हालेर ५ सय रुपैयाँमा बिक्रि गरिरहेको छु । मैन भने मैले बिक्री गरेकी छैन । आधार चाका बनाउन पगालेर राख्ने गरेकी छु । मैनबत्ती मैले बनाएकी छैन । मह मदानी किनेकी बाह्र हजारमा तर चुहिने रहेछ । फेरि यो मदानी मैले पालेका लोकल मौरी सेरेनाका चाकाबाट मह निकाल्ने होइन रहेछ । यो त युरोपियन मौरी मेलिफेराको चाका पेल्ने पो रहेछ ।

घारको मूल्य

मौरीको घारको मूल्य भने निकै चुलिएको छ । उनले भनिन् ‘सुरुमा १२ सय रुपैयाँमा पाइने घार अहिले निकै महंगो भइसक्यो । टुनीको काठबाट बनेको घारको ३ हजार ५ सय रुपैयाँ पर्छ भने मिश्रित काठबाट बनेको ३ हजार सम्ममा पाइन्छ । तर मौरी पालक किसानलाई भनेर कृषि कार्यालयले २५ प्रतिसत कम मूल्यमा घारहरु तथा टोपी, ब्रस, फाली लगायतका सामानहरु दिने गरेको छ । तर यसका लागि १० रुपैयाँको टिकट टाँसेर महिना दिन अघि नै जिल्ला कृषिमा निवेदन दिनुसाथ पैसा पनि बुझाइसक्नपर्छ । थोरै सामान र घार भए हाइवेसम्म र धेरै भए कृषिका सरहरुले घरसम्मै पुर्याइ पनि दिनुहुन्छ । तर भनेजति घार पाउनै सकिँदैन ।

उनले सोधिन् खाली घरको त्यति पर्छ मौरी भएको घारको कति पर्छ थाहा छ ? चार फ्रेम मौरी चाका र फ्रेमको आठ हजार पर्छ भने पाँच फ्रेमको १० हजार पो पर्छ । यो हामीलाई पर्ने होइन कृषि विकास कार्यालयले नै किसानसँग किन्छ । उनले हाँस्दै भनिन् ‘त्यसैले कृषिका सरहरु मलाई मेरा मौरी बेच हामी किनिदिन्छौँ भन्नुहुन्छ । त्यस हिसाबले मेरा ६० घार मौरीको अहिलेको भाउमा १० लाख पर्छ ।

घरको भित्तामा कम्प्युटर प्रिन्टबाट छापिएका नारालाई फ्रेम हालेर झुण्ड्याएकी राममायालाई यि किन राखेको भन्दा उनले भनिन् साठी घार भनेको मेरा साठी सन्तान हुन् । एउटा बच्चा हुर्काउन कति व्यस्त रहनुपर्छ ? कसैलाई सम्झाइरहनु पर्दैन । तर मलाई यी साठी सन्तान हर्काउन कति भ्याइनभ्याइ होला भनिसाध्य छैन । तर यहाँ मानिसहरु मौरीपालन हेर्न र शुद्ध मह किन्न आइरहन्छन् । केही जान्न चाहने र सामान किन्ने ग्राहकलाई गाली गर्न भएन तर घण्टौँ बसिरहनाले भने मलाई नियमित काम गर्न साह्रै गाह्रो पर्छ ।

आफूलाई परेका यस्ता व्यवहारिक समस्या श्रीमान र छोरासँग बेलाबेलामा गर्ने गरेको छु । एकदिन छोराले भन्यो, कति जनालाई एउटै कुरा दोहोर्याउनुहुन्छ आमा यी यसलाई फ्रेम हालेर ठाउँठाउँमा झुण््ड्यादिनुस् । पाहुनाहरुले आफैँ कुरा बुझ्नुहुन्छ । यो छोराले बनाइदिएको र उसलाई श्रीमानले सिकाइदिनुभएको हो ।

१. फाल्तु गफ गर्ने फुर्सद छैन –
गफ गर्नुहुन्छ भने –
उद्यमका बारेमा गर्नुहोस् ।

२. सक्छौ भने तिमी गर,
सक्दैनौ भने –
अरु कसैलाई गर्न देऊ
तर खुट्टा तान्ने काम नगर ।

३. सपना देख्न छाड
केही गर जिन्दगीमा !
काम नै सफलता हो
समय खेर नफाल !!

No Comments, Be The First!

Your email address will not be published.