सामुदायिक वनमार्फत सफलता : चञ्चलीको संघर्ष र हरियो वन कार्यक्रमको सहयोग

लमजुङ –

बेशीसहर नगरपालिका –१ उदीपुरकी किसान हुन् चञ्चली परियार । बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्ने पौरखी महिलाको रुपमा पनि अहिले उनले आफ्नो परिचय बनाएकी छिन् । कालिका सामुदायिक वन उपभोक्ता समूहमा विसं २०५२ सालदेखि निरन्तर कार्यसमिति सदस्य भएर काम गरेकी परियारले हरियो वन कार्यक्रम परियोजना अन्तर्गत जीविकाेपार्जन सुधारका लागि पाएको ४० हजार रकमले २ वर्षअघि २ ओटा बाख्रा किनेर बाख्रापालन सुरु गरेकी हुन् ।

‘यो सामुदायिक वनले मेरो जीवनमा निकै ठूलो प्रभाव पारेको छ । पहिला पहिला घाँस दाउरा गर्न यो वनले सहज बनाएको थियो भने अहिले यही वनमार्फत यो सहयोगले बाख्रापालन गर्दा मेरा लागि त असाध्यै राम्रो भएको छ ।’ हर्षित मुद्रामा परियारले भनिन् ‘पहिला मैले २ ओटामात्र बाख्रा पालेकी थिएँ । हरियो वन कार्यक्रमको सहयोग रकमले थप २ ओटा बाख्रा किनेँ । फेरि यो बाख्राले पाठा पाठा मात्र पाउने गरेको छ । बोका र खसी बेचेर राम्रो आम्दानी गरिरहेको छु ।’

वन संरक्षणमा पनि लामो समयदेखि निरन्तर लागि परेको बताउँदै उनले भनिन् ‘वन संरक्षणका लागि हामीले पनि धेरै गर्यौँ अहिले यही वनले हाम्रो गुण तिरिरहेको जस्तो लाग्छ ।’

वन समूहका अन्य सदस्य तथा गाउँका अरुले पनि चञ्चली परियार एक सफल बाख्रापालक किसान भएको बताउँछन् । नभनुन् पनि कसरी, पहिलो पटकको ४० हजार रुपैयाँले २ ओटा बाख्रा किनेकी परियारले छोटो समयमा नै लागानी उठाइहालिन् । उनले किनेको २ ओटा बाख्राले ४ ओटा पाठा पायो । केही समयको अन्तरालमा उनले ४ ओटा बोका १० हजार रुपैयाँको दरले बेचिन् र लगानी उठाइन् । फेरि पनि ती २ ओटा बाख्राले एउटा पाठी र तीन ओटा पाठा पाए । उनले तीनओटा पाठा खसी बनाइन् । उनले भनिन् ‘२ ओटा खसी अझै पनि छन् । अहिलेको भाउमा बिक्री गर्ने हो भने पनि २ ओटा खसी २०–२० हजारको दरले ४० हजारमा बिक्री हुन्छन् । पाठी पनि फेरि ब्याउने भएको छ । २ ओटा माउबाख्रा पनि ब्याउने छन् । अब त एकै पटक धेरै बाख्रा हुन्छन् ।’

बाख्रा बढ्दै गए पनि चञ्चली परियारले व्यवस्थित खोर निर्माण गर्न सकेकी छैनन् । साँघुरो ठाउँमा नै उनले बाख्रा बाँधेकी छिन् । उनले आफ्नो योजना सुनाउँदै भनिन् ‘एउटा खसी बेचेर आएको आम्दानीले व्यवस्थित र अलि ठूलो खोर निर्माण गरौँ कि भनेर सोचिरहेको छु ।’ तर उनको अर्को पनि आश छ । केही समय पालेर बेच्ने हो भने अलि बढी रकम आउँथ्यो भन्ने । २ ओटा खसी बेचेर ६० हजार आम्दानी गर्ने उनको योजना छ । उनी भन्छिन् ‘केही समय पालेर बेच्न पाए अलि बढी पैसा आउँथ्यो ।’ यी खसीबाट ६० हजार रुपैयाँसम्म आम्दानी गर्न सके हुन्थ्यो जस्तो उनलाई लागेको छ, त्यसैले अहिले नै उनको खसी बेच्ने योजना भने छैन । तर बाख्रा धेरै हुन थाले अब खोर अलि व्यवस्थित बनाउनुपर्छ भन्ने चाहिँ उनलाई पनि लागिरहेको छ । उनी भन्छिन्, ‘मेरो अन्य आयस्रोत केही पनि छैन । बाख्रा बढिरहेका छन् । यिनैबाट मेरो जीविकोपार्जन पनि भइरहेको छ । अब बाख्रापालन गरेर नै सबै व्यवस्था मिलाउँछु ।’

चञ्चली परियारलाई बाख्रा पालन गर्नका लागि घाँस कहाँ खोज्नु भन्ने चिन्ता छैन । नजिकैको सामुदायिक वनबाट र आफ्ना खेतबारीबाट बाख्राका लागि पर्याप्त घाँस हुने उनी बताउँछिन् । उनी भन्छिन् ‘यही सामुदायिक वनबाट त यतिको भएको छ । घाँस पनि वनमा जति पनि पाइन्छ । त्यहाँबाहेक आफ्नै खेतबारीमा पनि घाँस छ, अहिलेसम्म पुगिरहेको छ । अझै बाख्रा बढी भए पनि घाँसको लागि भने चिन्ता छैन ।’

धनी मानिसका लागि गाउँघरमा पनि १०–२० हजार रुपैयाँ रकम केही न केही हो तर गाउँका उद्यमशील व्यक्तिका लागि त्यो रकम उनीहरुको जीवन परिवर्तनको आधार बन्न सक्छ । बनेको पनि छ । कालिका सामुदायिक वन उपभोक्ता समूहका अन्य व्यक्तिहरुलाई पनि हरियो वन कार्यक्रममार्फत जीविकोपार्जन सुधारका लागि दिइएको रकमले उनीहरुको जीवनस्तर उकास्न सहयोग पुर्याएको छ । उनीहरुका लागि यो उद्यमले आँट, उद्यम र सीप बढाएको उनीहरुको बोली र व्यवहारबाट स्पष्ट देख्न सकिन्छ ।

No Comments, Be The First!

Your email address will not be published.