लघुकथाः रानीवनका वनपाले

डिकेन्द्र शाह

एउटा दुर्गम गाँउ थियो । गाँउको नाम पाखागाँउ, भौतिक विकासमा पछाडि परेको तर प्रकृतिक सुन्दरताले भरिपूर्ण । त्यहाँ आउने सबै मान्छेहरु उक्त वन देखेर आहा ! कति राम्रो वन भन्दथे । उक्त वनको नाम रानीवन थियो ।

उक्त वनको रेखदेख गर्ने काम उक्त गाउँका भागीरामले गर्दथे । उनले वन जंगलको मनैदेखी संरक्षण गर्दथे । उनी धेरै दयालु पनि थिए । उनलाई सबैले समाजसेवी सम्झन्थे । हिउँदमा एक महिना वन खुलाउने, त्यसपछि बन्द गर्ने गरिन्थ्यो । त्यस्तै बर्षायाममा पनि एक महिना नै खुल्ला हुन्थ्यो । अघिपछि वन थुनुवा हुन्थ्यो । जसका कारण वन संरक्षण भएको हुँदा निकै सुन्दर देखिन्थ्यो । आवश्यकता अनुसार गाँउका मान्छेहरुको सल्लाहबाट भागीरामले वनको नराम्रा बुट्यान काँटछाँट गर्दथे ।

रानीवन मानिसहरुका लागि एउटा मनोरञ्जनको केन्द्र पनि थियो । उकाली ओराली कति मनरम थियो, त्यो वन । उक्त वनको चर्चा अन्य गाउँमा पनि थियो । वनमा चराचुरुगीहरु, जीवजन्तु बाघ, रतुवा, घोरल, स्याल, मृग, वन बिराला, कालिज, ढुकुर, सुगा, तित्रा, हलेसा आदि बसोबास गर्दथे ।

समय बित्दै गयो । जसले गर्दा गाउँमा नयाँ परिवेश सिर्जना भएको थियो । विकास निर्माणको लहर आयो । विकासका गतिविधिले नयाँ परिवर्तन ल्याउँछ, भन्ने कुरामा गाउँलेहरु आशावादी थिए । यही सिलसिलामा रानी वनको मुनिबाट सडक बनाउँदा वनमा नै पहिरो जान थाल्यो भने त्यहाँको जमिन चिराचिरा बन्न पुग्यो । गाँउलाई आधुनिकताले छोए पनि वातावरण संरक्षणमा भने ठूलो धक्का पुग्यो ।
गाउँमा मानिसहरुको विचारमा नै विभेद आउन थाल्यो, जसले गर्दा उनीहरुमा एकरुपता आउन सकेन । गाँउका युवायुवतीहरुले रानीवनको संरक्षणमा चासो दिन छाडे । उनीहरुको सोच्ने क्षमतामा ह्रास आउँदै गएका कारण समाजमा जस्ता काम भए पनि सहजै स्वीकार्न थालियो । के गलत के सही भन्ने छुट्याउन नै छाडियो, या भनौ गैरजिम्मेवारीपना बढ्दै जान थाल्यो । जसले गर्दा समाजमा द्वन्द सिर्जना हुन थाल्यो । एक अर्कोलाई सम्मान गर्ने, एकतामा शुत्रमा बाँधिने कुराको कमी हुँदै गयो । गाँउको सोचेजस्तो प्रगति हुन सकेन । रानी वनको धेरै माया गर्ने भागीराम रानी वनको बारेमा सोचेर चासो र चिन्ता गरी रहन्थे ।

मान्छेहरुले कसैलाई पनि विश्वास नगर्ने, वन खुल्ला नभएको बेलामा पनि वनबाट घाँस दाउरा ल्याउने जस्ता कार्य बढ्दै गयो । यो देखेर गाँउका बुद्धिजीवी र समाजसेवीले भागीरामकहाँ गएर रानीवनको संरक्षणका लागि बारेमा केही सोच्न अनुरोध गर्न थाले । गाँउमा रानीवनको सवालमा व्यापक छलफल भयो । वनमा पहिरो गएकाले त्यसको समाधान गर्न वन समिति गठन गर्नुपर्ने बुद्धिजिवीहरुको राय थियो । यसै सवालबाट गाँउमा मनबहादुरको अध्यक्षता सहितको एघार सदस्यीय सामुदाायिक वन उपभोक्ता समितिको गठन भयो । सामुदायिक वन महासंघको सहजीकरणमा उक्त समिति गठन गरिएको थियो । पहिलेदेखि नै रानीवनको संरक्षणमा भागीरथको महत्वपूर्ण योगदान रहेकाले उनलाई नै वनपालेका रुपमा नियुक्त गर्न समितिले निर्णय गर्याे ।

लेखक सामुदायिक वन उपभोक्ता महासंघ, रुकुम(पूर्व) का उपाध्यक्ष हुनुहुन्छ

No Comments, Be The First!

Your email address will not be published.