मैन डाँडाले उपभोक्तालाई दिएको मैन जस्तै उज्यालो

काभ्रे, असोज २२ । केहि वर्ष अघिसम्म जिल्लाको डाँडापारी क्षेत्र दुगर्म, अभाव, अशिक्षा र कम आयस्तर भएको क्षेत्रका रुपमा चिनिन्थ्यो । लगातारको विकास र चेतना अभिवृद्धीले महाभारत क्षेत्रमा आयआर्जन र व्यवसायीकता फस्टाउन थालेको छ ।

२०५८ सालमा जिल्ला वन कार्यालयमा दर्ता भएको मैनडाँडा सामुदायिक वन उपभोक्ता समुह, महाभारत १ गोकुलेले उपभोक्ताहरुलाई आयआर्जनका लागि व्यवसायीक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । प्राविधिक सिप र ज्ञानको अभावका कारण उपभोक्ताहरुले पर्याप्त उत्पादन बढाउन नसके पनि व्यवसायीक खेतीतर्फ त्यहाँका उपभोक्ताहरुको आर्कषण बढ्दो छ ।

३ सय १० हेक्टर क्षेत्रफल रहेको साुमदायिक वनमा ६५ घरधुरी उपभोक्ता छन् । अध्यक्ष पञ्चलाल जिम्बाका अनुसार उक्त वनमा साल, चिलाउने लगायतका रुखहरु छन् भने कालिज, ढुकुर, मृग लगायतका वन्यजन्तु बसोबास गर्छन् भने त्यहाँ कुरिलो, हर्राे, बर्राे लगायतका जडिबुटीहरु उपलब्ध छन् । उपभोक्ताकै चाहना अनुरुप हरेक वर्षको कार्तिकदेखि बैशाखसम्म काठका लागि वन खुल्ला गर्ने गरिन्छ । जसलाई उपभोक्ता समुहले कार्ययोजनामा समावेश गरेको छ । हरेक वर्ष साधारण सभा, नियमित बैठक, आम्दानी खर्चको लेखापरीक्षण गराउने गरेको अध्यक्ष जिम्बाले बताउनुभयो । समुहको खातामा हाल रु साढे चार लाख रकम जम्मा भएको छ । उपभोक्ताहरुले काठ खरिद गर्दा तिरेको रकम सामुदायिक वनको प्रमुख आम्दानी श्रोत बनेको छ भने उपभोक्ताहरुले संरक्षण गरेको वनका विभिन्न स्रोतबाट थप आम्दानी हुन थालेको छ ।

हरेक वर्ष सन्तान जन्मँदा महिलाको स्वास्थ्य, बालबालिकाहरुको शिक्षामा समस्या बढ्दै जान थालेपछि उपभोक्ता समुहले थोरै सन्तान जन्माउने र स्थायी बन्ध्याकरण गर्ने व्यक्तिलाई समुहको तर्फबाट रु ३ सय उपलब्ध गराउने निर्णय भएको छ । उक्त समुहमा आवद्ध सदस्यहरुमध्ये केहिका १३ वटा सन्तान जन्मिएका छन् । ९ छोरा र ४ छोरी जन्माउने अभिभावकहरुको आर्थिक अवस्था सबल बनाउने योजना नहुँदा संकटमा परेको छ । अरु अभिभावकहरुलाई त्यस्तो समस्या हुन नदिन समुहले स्थायी बन्ध्याकरणको अभियान शुरु गरेको अध्यक्ष जिम्बाले बताउनुभयो । “कम भन्दा कम सन्तान जन्माउने अभिभावकहरुलाई समुहको तर्फबाट ३ सय उपलब्ध गराउने गरिएको छ”, उहाँ थप्नुहुन्छ, ,“स्थायी नै नगरे अस्थायी बन्ध्याकरण गर्ने र सन्तान कम जन्माउने तर्फ उन्मुख भएका छन् । २ वर्षमा समुहमा आवद्ध ९ सदस्यले स्थायी बन्ध्याकरण गराएका छन् ।”

धेरै सन्तान जन्माउने पहिलो समस्या रोक्न गरिएको पहल सफल हुँदै गएपछि समुहले बालविवाह रोक्न पहल गरेको छ । बालविवाह गर्ने क्रम बढेसँगै विद्यालय र सामुदायिक वन उपभोक्ता समुहको तर्फबाट केहि प्रयास भएको उहाँले बताउनुभयो । १३÷१४ वर्षको उमेरदेखि विवाह गर्ने र वर्षेनी बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्य खराब हुने भएकाले बालविवाह रोक्ने प्रयास शुरु गरिएको हो । प्रविधिको विकास र गलत प्रयोग तथा अशिक्षाका कारण बालविवाह भइरहेको उहाँको जिकिर छ । बालविवाह, अशिक्षा, जन्मदर वृद्धी कम गर्दै उपभोक्ताहरुको आर्थिक जीवनलाई सहज र सरल बनाउन उपभोक्ता समुह अन्र्तगत दुईवटा कबुलियती वन समुह गठन गरिएको छ । पँधेरा पाखा कबुलियती वन क र फेदिपाखा कबुलियती वनमा ३० जना उपभोक्ता समेटिएका छन् । एउटा समुहमा १५ जना सहभागी छन् । बाँकी उपभोक्ताहरु समुहमा आवद्ध हुन चाहे अर्काे समुह गठन गर्ने अध्यक्ष पञ्चलालले बताउनुभयो ।

कबुलियती वन भित्र उपभोक्ताहरुले कफि, अम्रिसो लगाएका छन् । कफिबाट एउटा परिवारले बार्षिक १०÷१२ हजार देखि ५० हजार रुपँैयासम्म आम्दानी गर्न थालेका छन् । अम्रिसोबाट घाँस र कुचो विक्री गरी २÷३ हजार देखि १५ हजार रुपैँयासम्म आम्दानी हुन थालेको छ । समुहका सदस्यहरुलाई खेतीका लागि आवश्यक तालीम र सीप नहुँदा क्षमता अनुसारको उत्पादन र आम्दानी गराउन नसकिएकाले समूहमा थप चिन्ता बढेको छ । त्यसको प्रमूख कारण त्यहाँ कृषि प्राविधिक नहुनु हो । जसका कारण कफीमा लागेको रोग पत्ता लगाउन नसकिएको र उपभोक्ताहरुको चिन्ता थपिएका जिम्बाले बताउनुभयो ।

कफीले ४० वर्षसम्म फल दिन्छ भन्ने आशाले बिरुवा लगाएका उपभोक्ताहरु १० वर्ष नपुग्दै कफीमा लागेको रोगका कारण निराश बन्नु परेपछि वैदेशिक रोजगारबाट फर्किएर व्यवसाय गर्न थालेका युवाहरुमा चिन्ता थपिएको छ । व्यवसायीक खेतीमा संलग्नमध्ये अधिकांश युवाहरु वैदेशिक रोजगारबाट फर्किएका छन् । समुहमा आवद्ध भएकामध्ये ६० प्रतिशत परिवारका सदस्यहरु वैदेशिक रोजगारमा छन् । कबुलियती वन समुहको वृद्धी, उपभोक्ताहरुलाई तालीम र सीप, प्राविधिक ज्ञान, बजारको ब्यवस्थापन गर्न सकिएको अवस्थामा डाँडापारीमा रहेका सामुदायिक वनलाई आय श्रोतको पकेट क्षेत्र बनाउन सकिने अध्यक्ष जिम्बाको विश्वास छ ।

महाभारत गाउँपालिकाको वडा नम्वर १ लाई गाउँपालिकाले कृषिको पकेट क्षेत्र घोषणा गरेको छ । पकेट क्षेत्र घोषणा गरे पनि आवश्यक योजनाहरुको निर्माण, प्राविधिकको व्यवस्थापन, कृषकहरुलाई तालीम र ज्ञान उपलब्ध गराएको छैन । रोग लाग्दा रोग पत्ता लगाउन नसक्ने र त्यस विरुद्ध विषादी प्रयोग गर्न नजान्दा कृषकहरुले लगाएको कफी सुक्न थालेको छ । कफी र अम्रिसो पछि त्यहाँको अर्काे व्यवसायीक खेतीका लागि आर्कषक मानिएको अलैंची हो । तर यो खेती व्यवसायीक भने बन्न सकेको छैन । अलैचीका लागि राम्रो जमिन भए पनि खेती लगाउन कृषकहरुमा उत्साह छैन । वैदेशिक रोजगारबाट फर्किएका युवाहरुले आफ्नै स्थानमा केहि गर्न सकिन्छ भन्ने सन्देश दिनु आवश्यक रहेको बताएका छन् ।

स्थानीय सरकारसँगको समन्वय र सहयोगमा मात्रै युवाहरुले आफ्नै जमीनमा श्रम र पसिना बगाउन सक्छन भन्ने उदाहरण मैन डाँडा सामुदायिक वन देखिएको छ । युवाहरुले अहिले बाँझो जमिन समेत खन्न थालेका छन् । आर्कषण छ तर टिकाउन सकिँदैन कि भन्ने चिन्ता उनीहरुमा आउन थालेको अध्यक्ष जिम्बाले बताउनुभयो । मैन डाँडाले उपभोक्ताहरुका लागि मैनको जस्तै उज्यालो बनाउने प्रयास गरेको उपभोक्ताहरुको भनाइ छ ।

No Comments, Be The First!

Your email address will not be published.