छठ पर्व र वन

काठमाडौँ, मङ्सिर ५ । छठ पर्व नेपालको मधेस र भारतका केही क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालको विशेषरूपले तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।

परम्पराअनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

सृष्टिको शुरूवातदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसंग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ ।

त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्, जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन् ।

व्रतालु भक्तजनहरू राति धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीँ कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन् । शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ ।

षष्ठीको भोलिपल्ट ब्रह्ममुहूर्तमा मानिसहरू पूजासामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अर्घ दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पीठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ ।

छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घस्रिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।

कार्तिक शुक्ल चतुदर्शीका दिनबाट शुरु हुने छठ पर्व सूर्यको आराधना गरी नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ । यो एउटा यस्तो चाड हो, जसमा डुब्न लागेको सूर्यको साथै उदाउँदो सूर्यको पनि आराधना गर्ने गरिन्छ ।

समाजमा उदाउँदो वा प्रतिष्ठित व्यक्तिलाई सबैले ढोग्छन्, सम्मान गर्छन् तर डुब्न लागेको घाम गरीब तथा बेसहारालाई कसैले हेर्दैनन् तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ । त्यस्तै सूर्यले सबै प्राणीहरूलाई समानरूपमा प्रकाश दिन्छ त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ ।

वर्षको दुईपटक चैत र कार्तिक महिनामा धुमधामका साथ मनाइने यो पर्व विधिअनुसार मनाएमा सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ । छालासम्बन्धी रोग निदानका लागि, पुत्र प्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरू भक्तिमा लिप्त भएर नजिकैको जलाशयमा गई यस दिन छठ पूजा गर्दछन् ।

छठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाईजस्ता सामग्रीको आवश्यकता पर्दछ । सम्पूर्ण प्राणीलाई विनाकुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै सूर्यको पूजा, प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ ।

छठको शुरुको दिन बिहान सबेरै उठेर हातखुट्टाको नङ काट्छन् र नुहाई–धुवाई गरी सफा कपडा लगाउँछन् अनि पूजा गरी शुद्ध भोजन गर्दछन् । विधिवत्रूपमा शुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिन नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सखरको खीर, लौकाको तरकारीजस्ता शुद्ध भोजन ग्रहण गर्दछन् ।

छठको तेस्रो दिन अर्थात छठ पर्व । यस दिनमा व्रतालुहरू पानीसमेत नपिई निराहार बस्छन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवाजस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँछन् । प्रातकालीन अर्घका लागि केही व्रतालु रातभर पानीमा बसेर सूर्य नउदाउन्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजन, कीर्तन र नाचगान हुने गर्दछ । घाटलाई बेहुलीझैँ सिँगारिएको हुन्छ ।

रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । बिहानीमा सूर्यको न्यानो किरणसँगै व्रतालुहरूले अञ्जुलीमा पानी भरी जल चढाउँछन् र पालैपालो ठकुवा, भुसुवा, फलफूल र मिठाईजस्ता प्रसाद अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी व्रत खोल्दछन् ।

छठ पर्वमा वनको महत्व
मानव जीवनमा वनको जति महत्व छ, विभिन्न चाडपर्वमा समेत यसको महत्व उत्तिकै छ । परापूर्वक कालदेखि नै विभिन्न पर्व मनाउन वनको विशेष उपयोग हुँदै आएको पाइन्छ ।
झनै छठ पर्वमा वनको विशेष महत्व हुने गर्दछ । पानीको मुहान वनबाट नै प्राप्त हुने गर्दछ भने पुजाका लागि आवश्यक विभिन्न प्रजातिका फूल तथा फलफूल वनबाट नै प्राप्त हुने गर्दछ । यो पर्वले प्रकृतिप्रेम समेत झल्काउने गर्दछ ।

No Comments, Be The First!

Your email address will not be published.