सामुदायिक वनका उपभोक्ता मौरीपालनमा आकर्षित

– मीना घोरसाइने

चितवन, मङ्सिर ३० । चितवनको कालिका नगरपालिकाका ५७ वर्षीय नवीन आचार्यले मौरी पाल्न थालेको २० वर्ष भयो । उहाँले मौरी चरन क्षेत्रको रुपमा सामुदायिक वनलाई नै उपयोग गर्दै आउनुभएको छ ।

थाङ्खोला सामुदायिक वनका उपभोक्ता समेत रहनुभएका उहाँले मौरीपालनसम्बन्धी तालिम लिएर व्यवसायमा होमिनु भएको हो । सुरुवातमा दुईवटा घारबाट मौरी पाल्न थाल्नुभएका आचार्यले मौरी पाल्न चाहने युवालाई सामुदायिक वनमार्फत घार वितरण समेत गर्दै आउनुभएको छ । एकसय वटासम्म घार बनाउनुभएका उहाँसँग हाल ४० वटा मौरी घार छन् ।

नेपालमा मौरीका लागि चरण क्षेत्र पर्याप्त मात्रामा छन् । विशेष गरी वनमा चिउरी फुल्ने समयलाई मह उत्पादनको प्रमुख सिजनका रुपमा लिइन्छ । सामुदायिक वनमा कात्तिकमा मात्र चिउरी फूल्ने भएकोले यो सिजनलाई मह उत्पादनको प्रमुख समयका रुपमा लिने गरिन्छ । औषधीय गुणयुक्त चिउरीबाट उत्पादित महको माग अन्तर्राष्ट्रिय बजारमा समेत रहेको उहाँले बताउनुभयो ।

जंगलको छेउसँग जोडिएकाले मौरीको आहारका लागि उहाँलाई जोहो गर्न खासै कठिन हुँदैन । तर वनमा फूलहरु नफूल्ने समयमा भने उहाँले आफैंले आहार बनाएर दिने गर्नुभएको छ । आफूले उत्पादन गरेको मह अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको उहाँले बताउनुभयो ।

मौरीपालनमा विशेष ज्ञान चाहिने र अन्य व्यवसायभन्दा राम्रो आम्दानी हुने बताउँदै उहाँ भन्नुहुन्छ, “मौरी मानिस जस्तै एक प्राणी हो, उसँगै तालिम लिनसके तिनीहरुले केही गर्दैनन् ।”

मह सम्बन्धी ज्ञान नभएमा भण्डारण गर्दा बिग्रने सम्भावना रहेको उहाँ बताउनुहुन्छ । यो पेशाबाट उहाँले वार्षिक दुईहजार क्विन्टलसम्म मह उत्पादन गर्दै आउनुभएका आचार्यले मौरीपालन व्यवसायलाई सजिलै डलर कमाउन सक्ने व्यवसायका रुपमा लिनुहुन्छ ।

२० वर्षदेखि कृषि कार्यालयमार्फत अनुदान समेत लिँदै आउनुभएका आचार्य यो व्यवसायप्रति युवा वर्गको खासै चासो नरहेको दावी गर्नुहुन्छ । “नेपाली युवा विदेशमा दुःख पाएर नआएसम्म नेपालमा केही गर्ने सोच्दै सोच्दैनन्”, थप्नुहुन्छ, “सरकारले यो व्यवसायलाई प्राथमिकतामा राख्न सके पैसा कमाउन कहीँ जानुपर्दैन ।”

उहाँले मौरी पाल्न सुरु गर्नुभएसँगै अरु उपभोक्ता सहित चितवनका अन्य व्यक्ति पनि यसतर्फ आकर्षित हुँदै गएका छन् । चितवनभरका मौरीपालक किसानलाई जोड्ने उद्देश्यले मिलिजुली सहकारी समूह समेत गठन भइसकेको छ । सो समूहमार्फत अहिले मौरीपालनका लागि आवश्यक तालिम, सामग्री वितरण र महको बजार व्यवस्थापन समेत हुँदै आएको छ ।

हाल उहाँले मह विक्रीबाटै खर्च कटाएर वार्षिक रु १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । सामुदायिक वनलाई व्यवसायसँग जोड्न सके देशको आर्थिकस्थिति समेत माथि उठ्ने उहाँको ठम्याइ छ ।
आचार्य जस्तै अर्का उपभोक्ता ५५ वर्षिय लक्ष्मण अधिकारीले पनि मौरीपालन गर्न थाल्नुभएको दश वर्ष भयो । परम्परागत रुपमा जिविका चलाउँदै आउनुभएका उहाँले मौरीपालन सुरु गरेसँगै एक सफल व्यवसायीका रुपमा स्थापित भइसक्नुभएको छ ।

मौरीपालनबाट वार्षिक रु ११ लाखसम्म आम्दानी गर्दै आउनुभएका उहाँले स्थानीय बजारमा नै महको विक्री गर्दै आउनुभएको छ । उत्पादन हुनेबित्तिकै विक्री नगर्दा पनि हुने भएकाले उहाँले केही समय भण्डारण समेत गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “मह जति पुरानो भयो, त्यसलाई त्यत्तिकै फाइदाजनक मानिन्छ ।”

पहिले परम्परागत रुपमा कृषि काम गर्दै आउनुभएका उहाँ मौरी पालन गरेसँगै परिवारको आर्थिक स्थिति सुध्रँदै गएको बताउनुभयो । वैदेशिक रोजगारीमा गएका उहाँका दुई छोराहरु समेत यहीँ फर्किएर मौरीपालन व्यवसायमा आवद्ध भएका छन् ।

बारीमा तोरी फूल्ने समय मौरीको आहारका लागि खासै कठिन नभए पनि तोरी नफूल्ने समयमा भने उहाँले चरणका लागि सामुदायिक वनमा लैजाने गर्नुभएको छ । जङ्गलमा पनि आहार नपाइने समयमा भने आफैंले आहार बनाएर दिनुपर्ने उहाँ बताउनुहुन्छ । सामुदायिक वनमार्फत मौरीपालनमा जोडिने नयाँ उपभोक्तालाई उहाँले तालीम समेत दिँदै आउनुभएको छ ।
थाङ्खोला सामुदायिक वनले उपभोक्ताको माग अनुसार सामुदायिक वनबाट काठ उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा बरण्डाबार संरक्षित वन परिषदबाट आएको रु एक लाख ५० हजार र सामुदायिक वन उपभोक्ता महासंघ नेपालबाट आएको रु ८० हजार गरी रु दुईलाख तीस हजारको घुम्ती कोष बनाएको थियो ।

घुम्ती कोषमार्फत सो वर्ष २५ जना उपभोक्तालाई २÷२ वटाको दरले मौरीको घार उपलब्ध गराएको सामुदायिक वनका सचिव ढाकाराम दाहालले बताउनुभयो । हालसम्म समूहले उपभोक्ताहरुलाई एक सयवटा घार उपलब्ध गराइसकेको उहाँले जानकारी दिनुभयो ।

मुनाफाको क्षेत्र भएकाले मौरीपालनप्रति उपभोक्ताको रुचि बढ्दै गएको सामुदायिक वनका अध्यक्ष केपी भट्टले बताउनुभयो । “मौरीपालन सबैभन्दा ठूलो सम्भावनाको क्षेत्र हो”, उहाँले भन्नुभयो । मौरीपालनका लागि बनाइएको सो कोषमार्फत सामुदायिक वनका उपभोक्तालाई जोड्दै जाने उद्देश्य रहेको पनि उहाँले बताउनुभयो ।

No Comments, Be The First!

Your email address will not be published.